सिद्धार्थ बैंकले कमायो ३ अर्ब १९ करोड मुनाफा, खराब कर्जा झण्डै दोब्बर बढ्यो


बैंक खबर । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा खुद नाफा ९.९१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको देखिन्छ । 

ब्याज आम्दानी
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३ दशमलव ९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६ अर्ब ५९ करोड रुपैयाँ थियो । 

सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफा ९.८३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २६ करोड रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । 

निक्षेप तथा लगानी
बैंकको निक्षेप १६.७६ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब ६५ करोड पुगेको छ । निक्षेपको तुलनामा कर्जा लगानीको वृद्धिदर कम छ । एक वर्षमा बैंकको कर्जा लगानी ३.०६ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप १ खर्ब ९१ अर्ब ५५ करोड रुपैयाँ थियो भने कर्जा लगानी १ खर्ब ७८ अर्ब ५८ करोड रुपैयाँ थियो । 

जगेडा कोष
बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड रुपैयाँ सञ्चिति देखिन्छ । यसमध्ये १० अर्ब ५७ करोड रुपैयाँ रिजर्भ कोषमा छ भने रिटेन्ड अर्निङ्समा ७९ करोड रुपैयाँ रहेको छ । यसले बैंकको वित्तीय स्थिति राम्रो रहेको देखाउँछ । 

सूचकहरु
नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी केही घटेको छ । वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी २.३० प्रतिशतले घटेर २२ रुपैयाँ ६४ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १७ पैसा थियो । चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानीमा गिरावट आएको देखिन्छ । 

यस्तै बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा, प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा र कस्ट अफ फण्ड ७.८२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ८७.८५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष १.०७ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा २.०१ प्रतिशत पुगेको छ । 

वितरणयोग्य मुनाफा
बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.४८ प्रतिशतले कम हो । यो आधारमा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस