अन्तर बैंक ब्याजदर २.६५ प्रतिशत


ब्रैक खबर । अन्तरबैंक ब्याजदर करिब साढे २ प्रतिशतमा झरेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको तर कर्जा विस्तार हुन नसक्दा बैंकहरुबीच हुने कारोबारको ब्याजदर ओरालो लागेको छ । 

जेठको तेस्रो साता देखि नै अन्तरबैंक ब्याजदर ओरालो लागेको हो । जेठको अन्तिममा करिब ६ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर गत साताको सोमबार ४.०१ प्रतिशतमा झरेको थियो । तर तरलता बढ्दै गएपछि एक सातामै अन्तरबैंक ब्याजदरमा ठूलो गिरावट आइसकेको छ । 

चालु आर्थिक वर्षको सुरुमा अन्तरबैंक ब्यजादर सात प्रतिशतभन्दा माथि पुगेको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति छ । यसही कारण अन्तरबैंक ब्याजदर साढे दुई प्रतिशत नजिक झरेको छ । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आइतबार २० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत तान्न खोजेको थियो । तर त्यसमा पनि बैंकहरुले माग भए अनुरुप पैसा दिएनन् । 

बढ्दो रेमिट्यान्स, सरकारी खर्चमा भइरहेको वृद्धि, कर्जाको माग नहुनु लगायतका कारण अहिले वित्तीय प्रणालीमा अधिक तरलता भएको छ । राष्ट्र बैंकले एक साता नहुँदै दुई पटक रकम खिचेको छ । विहीवार ७ दिने रिभर्र्स रिपोमार्फत १० अर्ब रुपैयाँ तरलता खिचेको राष्ट्र बैंकले आइतवार पनि २० अर्ब रुपैयाँ खिच्न चाहेको थियो । तर, बैंकहरूले १३ अर्ब २० करोड रुपैयाँमात्र विक्री गरेका छन् । 

गतसाता बिहीवार बोलकबोल भएको रिभर्स रिपोमा ९ वटा बैंक तथा वित्तीय संस्थाले ५९ वटा आवेदनमार्फत २६ अर्ब ३३ करोड रुपैयाँका लागि बोलपत्र पेस गरेका थिए । बैंकहरुले न्यूनतम २.७३ र अधिकतम ३.२४ प्रतिशतसम्म ब्याज तोकेर बोलपत्र पेस गरेका थिए । उक्त रिभर्स रिपोमा औसत ब्याजदर ३.०१ प्रतिशत कायम भएको थियो । तर आइतबारको रिभर्स रिपोमा बैंकहरुले ब्याजदर बढाएर बोलपत्र पेश गरेका थिए । राष्ट्र बैंकका अनुसार आइतवारको रिभर्स रिपोमा ८ वटा बैंक तथा वित्तीय संस्थाले ३७ आवेदनमार्फत १४ अर्ब ७० करोड रुपैयाँका लागि बोलपत्र पेश गरेका थिए । त्यसमा न्यूनतम २.७ प्रतिशत र अधिकतम ५.४ प्रतिशत ब्याजदर बोलकबोल गरेका थिए । औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको थियो । 

बैंकहरुको निक्षेप बढ्दै जाने तर कर्जाको माग कम हुने स्थितिले बैंकहरुको कर्जा निक्षेप अनुपात ८३.९७ प्रतिशत कायम भएको छ । यसले गर्दा अन्तरबैंक, ट्रेजरी, विकास ऋणपत्रलगायतको ब्याजदर घटिरहेको छ । ट्रेजरी बिलको ब्याजदर ४ प्रतिशत हाराहारीमा झरेको छ । 

अहिले बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ७१ अर्ब र कर्जा प्रवाह ४८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस