लघुवित्तले अब आधारदरमा बढीमा ३ प्रतिशत प्रिमियम थपेर ब्याजदर तोक्न मिल्ने
२०८२ असार २७ गते शुक्रबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि कर्जाको ब्याजदर निर्धारणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले निर्देशन जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरुले अब कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम ३ प्रतिशत प्रिमियम थपेर ब्याजदर तोक्न पाउने व्यवस्था गरेको हो । यसरी ब्याजदर निर्धारण गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरका आधारमा त्रैमासिक रुपमा निर्धारण गर्नुपर्नेछ ।
यस्तै, लघुवित्त वित्तीय संस्थाहरुले मिति २०८२ साउन १ गते भन्दा अगाडी अगाडि प्रवाह गरेको तथा हाल बक्यौता रहेको कर्जाको हकमा आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम् १५ प्रतिशतसम्म निर्धारण गर्न सक्ने व्यवस्था पनि गरेको छ ।
यस्तै, लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्दा केन्द्रीय बैंकबाट प्रकाशित “देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति” मा उल्लेख भएबमोजिम वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने दरभन्दा बढी हुने गरी कर्जाको ब्याजदर निर्धारण गर्न भने पाउने छैनन् ।
निर्देशनमा भनिएको छ, यसप्रकार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गर्दा हुनआउने ब्याजदर र यस बैंकबाट प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भएबमोजिम वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने ब्याजदरमध्ये जुन कम हुन्छ सो दरको सीमा भित्र रही आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्नु पर्नेछ ।
लघुवित्त वित्तीय संस्थाले मासिक रुपले आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र यस बैंकमा पेश गर्नुपर्ने छ । साथै, आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्ने व्यवस्था पनि गरेको छ ।
कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म त्रयमासिक रुपमा परिवर्तन गर्नु पर्नेछ । तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तन भन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न बाधा पर्ने छैन । यसरी व्याजदर घटाउदा वा वृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्नेछ ।