ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशन हुने
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाइ सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । यो योजना बन्दमुखी योजना हो ।
यो योजना १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने “ग्रीनसुओ अप्सन” सहितको व्यवस्था गरिएको छ । यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखेको क्यापिटलले जनाएको छ ।
योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ ।
यो योजनाको इकाइ खरिद गर्न चाहने लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाइ देखि अधिकतम एक करोड २० लाख इकाइसम्मका लागि आवेदन गर्न सकिनेछ । कम्पनीले कुल १२ करोड इकाइहरु बिक्रीमा ल्याउने छ ।
यो योजनाको अवधि १० वर्षको हुनेछ । यस योजनाको लाभांश नीति मुनाफाबाट वितरण र बाँकी रकम पुनः लगानी गर्ने रहेको छ । दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्जमा सूचीकरण हुनेछ ।
कम्पनीले प्रारम्भिक लगानीमा १५ प्रतिशत फन्ड प्रायोजक र व्यवस्थापकलाई छुट्याएको छ ।
यस योजनाको व्यवस्थापन शुल्क, नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत र डिपोजिटरी शुल्क, नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत तोकिएको छ ।
क्यापिटलले यस योजनाबाट संकलित पैसाबाट इक्विटी/इक्विटी सम्बन्धी साधनहरूमा ७०–९० प्रतिशत (उच्च जोखिम), ऋणपत्रहरु, निश्चित आम्दानी साधनहरूमा ०–१० प्रतिशत (मध्यम जोखिम), फिक्स्ड डिपोजिटमा ०–१० प्रतिशत (न्यून जोखिम) र नगद/आईपीओ/अन्य म्युचुअल फन्डहरुमा ०–१० प्रतिशत (न्यून जोखिम) लगानी गर्ने छ ।
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।
यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०।१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १।०२५ अर्ब कोष आकार रहेको छ ।
यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।
यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।
यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।