सेयरबजारमा ९.१४ अंकको वृद्धि, लगानीकर्ताको सम्पत्ति १५ अर्ब रुपैयाँले बढ्यो


२०८२ असार १९ गते बिहीबार । 

सेयर खबर । सेयरबजार लगातार पाँच दिनदेखि बढ्दो क्रममा छ । बिहीबार पनि नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा कायम भएको छ । नौ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको दुई करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४७ कम्पनीमध्ये १२२ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेर बन्द भएको हो । यसदिन २५ कम्पनीका सेयरधनीले भने गुमाएका छन् । कारोबार सुरु भएको पाँच मिनेटपछि घट्न थालेको बजार पछि सम्हालिएको थियो ।

लगानीकर्ताहरु फाइनान्स कम्पनीहरुको सेयरमा बढी झुम्मिएको देखिन्छ । त्यसैले फाइनान्स समूह सबैभन्दा धेरै ४.०९ प्रतिशतले बढेको छ । कारोबारमा आएका १५ वटै फाइनान्स कम्पनीको सेयरमूल्य बढेको छ । 

आज सूचीकृत १३ समूहमध्ये पाँच वटा समूह घट्यो भने आठ वटा बढेका छन् । जीवन बीमा समूह २.६२ प्रतिशत, निर्जीवन बीमा समूह २.२४ प्रतिशत, विकास बैंक १.२०, म्युचुअल फण्ड १.१४, उत्पादन तथा प्रशोधन ०.३९, बैंकिङ ०.३१ र अन्य ०.०३ प्रतिशत बढेको छ । ब्यापार समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले घटेको छ । त्यसपछि लगानी समूश ०.७७ प्रतिशत, जलविद्युत ०.५९, लघुवित्त ०.२२ र होटल तथा पर्यटन ०.०७ प्रतिशत घटेको छ ।

नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । त्यसपछि गुराँस लघुवित्तको सेयरमूल्य पनि ९.९५ प्रतिशत घटेको छ । 

बुटवल पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ३१ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

लगानीकर्ताको सम्पत्ति एक दिनमै १५ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४५ खर्ब पाँच अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि आठ अर्ब रुपैयाँ बढेर १५ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको छ । 

शेयर गर्नुहोस