कर्णाली विकास बैंक घोटाला प्रकरणमा मिश्र पक्राउ
बैंकको खबर । कर्णाली विकास बैंकमा भएको करोडौं रुपैयाँको घोटाला प्रकरणमा संलग्न भएको अरोपमा बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।
बाँकेको धम्बोझी चोकबाट पक्राउ गरिएका मिश्रलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा राखिएको छ।
सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए।
मिश्र विसं २०६६ देखि २०७५ सम्म कर्णाली विकास बैंकको अध्यक्ष रहेका थिए।
उनीसँगै यस घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पनि पक्राउ परिसकेका छन्।
नेपाल राष्ट्र बैंकको समन्वयमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिआइबीले जनाएको छ। बैंकमा हालसम्म करीब २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको उजुरी परेको छ।