१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब रेमिट्यान्स
२०८२ जेठ २७ गते मंगलबार ।
बैंकको खबर । चालू आर्थिक वर्ष २०८१/८२को पहिलो १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन एक वर्ष अघिको तुलनामा १३.२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो ।
२०८२ वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । २०८१ वैशाख महिनामा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ भित्रिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । गतवर्ष वैशाखसम्म अमेरिकी डलरमा ९ अर्ब २ कारोड भित्रिएको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४,०५,६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २,८०,३१४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,७३,३०७ र २,३६,३९८ रहेको थियो ।