जीवन बीमा कम्पनीहरुले १० महिनामा संकलन गरे एक खर्ब ४० अर्ब बीमाशुल्क


२०८२ जेठ २५ गते आइतबार ।

बीमा खबर । चालू आर्थिक वर्षको १० महिना (साउन - वैशाख)सम्म जीवन बीमा कम्पनीहरुले एक खर्ब ४० अर्ब ३५ करोड बीमा शुल्क सङ्कलन गरेका छन् । जुन एक वर्षअघिको सोही अवधिको तुलनामा १५.५५ प्रतिशत धेरै हो । यस्तै, कुल बीमा शुल्क सङ्कलन एक खर्ब ७६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १४.०३ प्रतिशतले बढी हो । 

जीवन बीमामा दाबी भुक्तानीको सङ्ख्या दुई लाख १८ हजार ९५१ रहेको छ । उनीहरुलाई ४८ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी भएको छ । यसपटक दाबी भुक्तानीमा केही कमी आएको देखिन्छ । साथै, ५३ हजार ४८१ वटा दाबीको चार अर्ब ४५ करोड रुपैयाँ भुक्तानी हुन भने बाँकी छ । 

निर्जीवन बीमातर्फ गत वैशाख मसान्तसम्म कुल एक लाख १३ हजार ९३७ वटा दाबी भुक्तानी भएको छ । कुल १२ अर्ब ५८ करोड भुक्तानी भएको छ भने ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको कुल एक लाख पाँच हजार ६२० वटा दाबी सङ्ख्या भुत्तानी हुन बाँकी छ । 

गत वैशाख मसान्तसम्म ८८ हजार ६३५ बीमालेख समर्पण भएका छन् । जसअन्तर्गत रु १२ अर्ब २७ करोड समर्पण रकम छ । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बको दोस्रो संस्करणमा यि तथ्यांकहरु उपलब्ध छन् । प्राधिकरणले यस आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्यांकको विश्लेषणसहित बीमा प्रतिविम्ब सार्वजनिक गरेको हो ।

यो संस्करणमा वैशाख मसान्तसम्म जारी भएको बीमालेख सङ्ख्या, प्रदेशगत बीमालेख सङ्ख्या, बीमाशुल्क संकलन, बीमा दाबी भुक्तानी विवरण, जीवन बीमाको पहुँच लगायतका विषय समावेस गरिएको छ । 

नेपालको बीमा क्षेत्रमा भएको प्रगति, बीमा शुल्कमा वृद्धि, दाबी भुक्तानीमा सकारात्मक वृद्धि देखिएको छ । जसले अर्थतन्त्रमा बीमा क्षेत्रको महत्त्वपूर्ण योगदानलाई उजागर गरेको छ ।

शेयर गर्नुहोस