'आगामी आवको बजेटले लगानी प्रवद्र्धन गरेको छ' : चेम्बर अध्यक्ष अग्रवाल 



२०८२ जेठ १७ गते शनिबार । 

बजेट । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेट विकासमुखी र केही महत्वकांक्षी भएको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आगामी आवको बजेट लगानी प्रवद्र्धन गर्ने र आइटी र प्रविधिको विषयलाई महत्व दिएर आएको बताएका हुन् । 

तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उनले बताए । यो नीतिले विदेशीने युवाको संख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ । 

यस्तै, पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको उनले बताए । त्यसमा हवाइ टिकटमा लाग्दै आएको कर हटाएको भए झन राम्रो हुने बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

यस्तै, उनले चालु कर्जा उपलब्ध गरेकाले अर्थतन्त्रमा सुधार हुने विश्वास लिइएको बताए । अन्तराष्ट्रिय मापदण्ड अनुसार नदि जन्य उत्खननका विषयहरु पनि आएकोले यसमा निकै सहज हुनुपर्ने उनको भनाइ छ । 

भारततर्फ निर्यातमा पनि निकै समस्या भइरहेको बताउँदै उनले यसमा पनि सुधार गर्न आवश्यक रहेको बताए । यसैगरि राजस्वको स्रोतमा ध्यान दिन आवश्यक रहेका पनि उनले बताए । 

ठूला राष्ट्रबाट आउने अनुदानहरुमा कमी आउने देखिदा अर्थतन्त्रमा असर गर्ने पनि उनले बताए । यस्तै उनले व्यवसायमा संकुचन भएको अवस्थामा पुनकर्जाका व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले यसबारे मोद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने बताए ।

शेयर गर्नुहोस