५ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक
२०८२ जेठ ८ गते बिहीबार ।
बैंकको खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले जेठ १८ गतेदेखि ऋणपत्र बिक्री निष्काशन गर्ने भएको छ । बैंकलेले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ बिक्री गर्न लागेको हो ।
बैंकले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। त्यसमध्ये ६० प्रतिशत (३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता) ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने र बाँकी ४० प्रतिशत (२ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता) सर्वसाधारणलाई बिक्री निष्काशन गर्ने जनाएको छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिने छ भने १९ लाख कित्ता ऋणपत्र सर्वसाधारणले खरिद गर्न सक्नेछन् ।
यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ।
ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । जेठ १८ गते निष्काशन हुने ऋणपत्र जेठ २१ गते बन्द हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा ढिलोमा असार १ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र ‘मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। जसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।