कर्जाको ब्याजदर महिनैपिच्छे परिवर्तन गर्न निर्देशन


बैंक खबर । बैंक तथा वित्तीय संस्थाहरुले महिनैपिच्छे कर्जाको परिवर्तन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सोमबार एकीकृत निर्देशन, २०७९मा संशोधन गरी पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमाभित्र रहेर प्रत्येक महिना परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो । 

‘कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ’, निर्देशनमा भनिएको छ ‘तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले वाधा पर्नेछैन ।’

यसरीे पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने÷नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ । 

परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्रप्राप्त संस्थाको कोर बैंकिङ सिस्टममार्पmत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नु पर्नेछ ।

राष्ट्र बैंकले ब्याजदर घटाउदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

“आधार दर निर्धारण सम्बन्धी कार्यविधि, २०६९” बमोजिम मासिक रुपले आधार दर गणना गरी निर्देशन फा.नं. १५.१ बमोजिमको ढाँचाको विवरण महिना समाप्त भएको ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नु पर्नेछ । साथै, मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नु पर्नेछ ।

कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस