गभर्नर नियुक्तीमा ढिलाइले सेयरबजार प्रभावित, लगानीकर्ताको मनोबल खस्कियो


२०८२ वैशाख १० गते बुधबार । 

सेयर खबर । सेयरबजार चार दिनदेखि घट्दो क्रममा छ । बुधबार पनि कारोबार मापक नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा झरेको छ । कारोबार भएका २४६ कम्पनीमध्ये २१७ वटाको सेयरमूल्यमा गिरावट आउँदा बजार प्रभावित बनेको हो । तर २८ कम्पनीका सेयरधनीले आजपनि कमाएका छन् । एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । 

सात अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको एक करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर किनबेच भएको छ । 

उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूह सामान्य बढेको छ । बाँकी सबै समूह घटेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै २.०९ प्रतिशत घटेको छ । त्यसपछि जलविद्युत समूह १.७८ प्रतिशत, लगानी समूह १.७६ प्रतिशत र अन्य समूह १.५० प्रतिशत घटेको छ । बैंकिङ समूहमा पनि १.२३ प्रतिशत घटेको छ । यो समूहमा रहेका १९ वटै वाणिज्य बैंकको सेयरमूल्यमा गिरावट आएको छ । यसैगरी फाइनान्स समूह १.१५ प्रतिशत, होटल तथा पर्यटन समूह १.०५ प्रतिशत, लघुवित्त समूह १.०४ प्रतिशत, निर्जीवन बीमा ०.९७ प्रतिशत, जीवन बीमा ०.४५ प्रतिशत र व्यापार समूह ०.३० प्रतिशत घटेको छ । 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज पनि सकारात्मक सर्किट लेभलमा भएको छ । बजार बन्द हुँदा दुवै कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.०६ प्रतिशत घटेको छ । 

राधि विद्युत कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ५८ करोड ४२ लाख रुपैयाँ बराबरको भएको छ । त्यसपछि धेरै कारोबार एनआरएन इन्प्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५१ करोड ६३ लाख रुपैयाँको भएको छ । 

एक दिनमा लगानीकर्ताको सम्पत्ति ५४ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि १८ अर्ब रुपैयाँ घटेर १४ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको छ । 

बजार घट्नुको कारण के हो ?
लगानीकर्ताले बजार घट्नुको मुख्य कारण गभर्नर नियुक्तिमा भएको ढिलाइ भएको बताएका छन् । सरकारले केन्द्रीय बैंकको गभर्नर नियुक्त गर्न सकिरहेको छैन । सत्तारुढ दलहरुबीच गभर्नर नियुक्तिमा सहमति भएको भनिएपनि सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाएको छैन । गभर्नर सिफारिस समितिको बैठक नबोलाएको भन्दै एकजना सदस्य (पूर्वगभर्नर विजयनाथ भट्टराई)ले त सो समितिबाट राजीनामा नै दिएका छन् । यससँगै गभर्नर नियुक्तिको विषय थप लम्बिने देखिएको छ । 

गभर्नर नियुक्ति नहुँदै अदालतमा मुद्दा पनि परेको छ । कतिपयले गभर्नर नियुक्तिको विषयमा स्वार्थ समूहहरु हाबी हुँदा सरकारले निर्णय गर्न नसकेको टिप्पणी गरेका छन् । यिनै घटनाक्रमले गर्दा लगानीकर्ताहरुको मनोबल खस्किदै गएको छ ।

राष्ट्र बैंक सेयरबजारको नियमनकारी निकाय त होइन तर उसले लिने नीतिगत व्यवस्थाका कारण बजार सँधै प्रभावित हुने गर्छ । त्यसैले लगानीकर्ताले केन्द्रीय बैंकको गभर्नर नियुक्तिको विषयलाई लगानीकर्ताले नजिकबाट हेरिरहेका हुन्छन् । खासगरी बजार मैत्री गभर्नर आउँछन कि आउँदैनन भन्ने चासो लगानीकर्तामा हुन्छ । 

शेयर गर्नुहोस