नेपाल लाइफको सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न
२०८२ वैशाख ९ गते मंगलबार ।
बीमा खबर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षको तेस्रो त्रैयमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले चुनौतीपूर्ण अवस्थाका बावजुद पनि कम्पनीले प्राप्त गरेका उपलब्धिका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखिनै धन्यवाद ज्ञापन र आगामी दिनमा कम्पनीले लिएको लक्ष्यलाई प्राप्ति गर्नका निम्ति सबैलाई शुभकामना व्यक्त गरे । उनले जीवन बीमा व्यवसाय एकदमै सेन्सिटिभ क्षेत्र रहेको उल्लेख गर्दै जीवन बीमा पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको बताए । उनले बजारमा रहेको जोखिमलाई खरिद गरी मान्छेको जीवनलाई सहज बनाउन बीमा कम्पनीले अतुलनीय भूमिका खेल्ने र त्यसका निम्ति सम्पूर्ण नेपाल लाइफकर्मीहरूलाई बीमाको चेतना अभिवृद्धि गर्न आग्रह रे ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तता दिने कर्मचारी र अभिकर्ताहरूलाई धन्यवाद दिए । कम्पनी २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा विश्वस्त रहेको पनि उनले विश्वास व्यक्त गरे । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइजेसनको कार्य सुरु गरिसकेको जानकारी दिए । निकट भविष्यमा बीमितहरुले कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन नपर्ने अवस्था आउने बताए ।