बैंकिङ प्रणालीमा ५८ करोड पठाउँदै राष्ट्र बैंक


२०८२ वैशाख ९ गते मंगलबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ५८ करोड रुपैयाँ निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । 

सो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र ब्याजदर वैशाख १० गतेभित्र प्रस्ताव गर्नुपर्नेछ । निक्षेप २०८२ वैशाख १६ गतेदेखि २०८३ वैशाख १६ गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा भएको हुनुपर्छ ।

यस्तै न्यूनतम पुँजीकोष (बफर सहित) कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुदल निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति तोकिएबमोजिम कायम रहेको, कर्जा निक्षेप अनुपात निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम आर्थिक वर्षमा खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने लगायतका शर्तहरु पालना गरेको बैंक तथा वित्तीय संस्थाले निक्षेप लिनका लागि प्रस्ताव गर्न सक्नेछन् । 
 

शेयर गर्नुहोस