गतसाता चहलपहल बढेको सेयरबजारमा यससाता के होला ? 


२०८२ वैशाख ७ गते आइतबार । 

सेयर खबर । गतसाता अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा १० अर्ब ८० करोड रुपैयाँँ बराबरको कारोबार भयो । यस्तै, लामो समयदेखि साइडवेज प्रवृतिमा रहेको बजारमा गतसाता तीन कारोबार दिन वृिद्ध देखियो । चैत मसान्तको प्रेसर सकिएपछि वैशाख लागेपछि बजार बढ्न थालेको र यसले आगामी दिनमा पनि सकारात्मक लय समाउने संकेत गरेको बजारका विश्लेषकहरुले बताएका छन् ।  
 

कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय भएको छ । तेस्रोे त्रैमासिक रिपोर्टपछि लगानीकर्ताले राम्रा कम्पनी छानेर सेयर खरिद बढाउने गर्छन । किनभने तेस्रो त्रैमाससम्म कुन कम्पनीले राम्रो प्रतिफल दिन सक्छ भन्ने कुराको मोटामोटी आकलन गर्न सजिलो हुन्छ । त्यसैले केही लगानीकर्ताले सम्भाविति वृद्धिलाई आकलन गर्दै सेयर खरिद बढाउँदा बजारमा चहलपहल बढेको देखिन्छ ।  

यसबाहेक देशको अर्थतन्त्रको आन्तरिक र बाह्य सूचकहरु पनि ठिकठाक छन् । बैंकको ब्याजदर तत्काल बढिहाल्ने सम्भावना पनि छैन । तरलता पनि उच्च छ । बैंकहरुले सेयर धितोमा कर्जा प्रवाह पनि बढाउँदै लगेका छन् । केन्द्रीय बैंकका नीतिगत विषयहरु पनि बजारलाई नकारात्मक असर पार्ने खालका छैनन् । जसले गर्दा बजारमा तत्काल ठूलो गिरावट आइहाल्ने सम्भावना पनि देखिदैन । 

गतसाता चार दिन सेयर कारोबार भएकामा तीन दिन नेप्से बढेको छ । समग्रमा नेप्से एक दशमलव ९५ प्रतिशत बढेर दुई हजार सात सय २२ विन्दुमा पुगेको छ । बजार पुँजीकरण ४५ खर्ब २० अर्ब रुपैयाँ कायम भएको छ ।

बिहीबार साताकै उच्च १० अर्बृ ७९ करोडको सेयर किनबेच भएको छ भने आइतबार सबैभन्दा कम छ अर्ब २८ करोडको कारोबार भएको थियो । दैनिक औसत कारोबार आठ अर्ब २२ करोड रुपैयाँको भएको छ ।

सातामा लगानी समूह सबैभन्दा धेरै सात दशमलव २० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै ४६ दशमलव ३७ प्रतिशत बढेको छ । त्यसपछि क्रेस्ट माइक्रो लाइफको ४६ दशमलव ३२ प्रतिशत बढेको छ । विन नेपाल लघुवित्तको सेयरमूल्य भने सबैभन्दा धेरै १६ दशमलव ८८ प्रतिशत घटेको छ । 

बजारले साइडवेज प्रवृतिलाई तोडदै माथितिर जान खोजिरहेको देखिन्छ । यसलाई कम्पनीहरुको तेस्रो त्रैमासिक विवरणले सहयोग गर्न सक्छ । कम्पनीहरुको वितरणयोग्य नाफा बढेर गयो भने पक्कै पनि बजार माथि जान सक्छ । यसले लगानीकर्ताको मनोबल बढाउन सक्छ । 

शेयर गर्नुहोस