सुनको भाउ तोलाको १ लाख ९० हजार नाघ्यो
२०८२ वैशाख ४ गते बिहीबार ।
अर्थतन्त्र । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँ बढेको हो । हिजो बुधबार सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय बजार प्रभावित भएको छ । डलरको भाउ घटेको छ । डलरको भाउ घट्दा लगानीकर्ता डलर बेचेर सुनमा लगानी गरिरहेका छन् । यहीकारण सुनको माग बढ्न गई मूल्यमा भारी वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि सुनको भाउले निरन्तर नयाँ उचाई बनाउँदै गएको छ ।