राजावादीको आन्दोलन अराजक, रणमैदान बनेको तीनकुने


काठमाडौं, २०८१ चैत १५ गते शुक्रबार । 

राजसंस्था पुनस्थापनकाका लागि भन्दै राजावादी समुहहरुले शुक्रबार बिहान ११ बजेदेखि काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन सुरु गरिसकेका थिए । युवाहरुले सुरु देखि नै नारावाजी गरिरहेका थिए । सरकार र प्रमुख राजनीतिक दलका नेताहरु लक्षित नारावाजी गरिरहेका थिए । 

प्रहरीले तीनकुने क्षेत्रबाट बानेस्वर तिर जाने बाटोमा प्रदर्शनकारीलाई अगाडि बढ्न दिएको थिएन । तीनकुनेको चौरमा राजावादी समूहले प्रदर्शनको कार्यक्रम राखेका थिए । 

आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले प्रदर्शन गरिरहेको भिडलाई उत्तेजित बनाउने काम गरे । 

प्रहरीले प्रदर्शनस्थलको आसपासबाट अश्रुग्यास हान्न थाल्यो । स्टेजमा रहेका नेताहरु भागे । स्टेज रित्तियो । प्रदर्शनकारीहरुले आसपासका घरमा ढुंगा हाने । प्रहरी र प्रदर्शनकारीहरुबीच भिडन्त भयो । 

एकैछिनमा मार्बल हाउसमा आगो लाग्न थाल्यो । सशस्त्र प्रहरी बलको दमकल आएर आगो निभाउने कोशिश गरेपनि तत्काल आगो निभाउन सकेन । त्यही आगजनीमा परेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भयो । 

प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनीबाट सामान लुटे । पेरिसडाँडाँमा रहेको माओवादीको कार्यालयमा निशाना बनाए । एकीकृत समाजवादीको कार्यालयमा त आगजनी नै गरे । कान्तिपुर टेलिभिजन र अन्नपुर्ण पोष्टको भवनमा आक्रमण गरे । 

जडीबुटीतर्फ अघि बढको एउटा भिडले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड गरे र आगजनी गरे । 

शेयर गर्नुहोस