निर्देशनविपरीत काम गर्ने प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही


२०८१ माघ ९ गते बुधबार । 

बैंकको खबर । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा नियम विपरित काम गर्ने तीन वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । 

केन्द्रीय बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै प्रभु बैंक, हिमायलन बैंक र एनआईसी एशिया बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्था पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराएको छ । 

यस्तै एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं.२/०८० को बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनूपात गणना सम्बन्धमा यस बैंकले जारी गरेको Capital Adequacy Framework, 2015 को व्यवस्था अनुरुप प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको तथा केही कर्जाहरूमा जोखिमभार प्रदान गर्दा उक्त Framework मा उल्लेख भएभन्दा कमभार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएकोले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।


त्यस्तै , राष्ट्र बैंकले  एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई सचेत गराएको छ।

एनआईसी एशिया बैंक लिमिटेडका सञ्चालक समिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नसिहत दिएको छ । बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्वद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराएको छ ।
 

All banking information at your fingertips.

शेयर गर्नुहोस