बढ्दै डिजिटल वित्तीय कारोबार, मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ६० लाख नाघे


२०८१ माघ ३ गते बिहीबार ।

बैंकको खबर । नेपालमा डिजिटल वित्तीय कारोबार बढ्दै गएको छ । भुक्तानीका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, कनेक्ट आइपीएस, डेविट तथा क्रेडिट कार्डको प्रयोग बढेपछि डिजिटल कारोबार पनि बढेको हो ।

२०८१ मंसिर मसान्तसम्मको तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ६० लाख नाघेको छ । भुक्तानीका लागि सजिलो, नोट बोक्नु नपर्ने लगायतका सुविधाका कारण मोबाइल बैंकिङमा आकर्षण बढेको देखिन्छ । 

राष्ट्र बैंकका अनुसार मंसिरसम्म दुई करोड ६० लाख ३४ हजार ३५४ जनाले मोबाइल बैंकिङ प्रयोग गरेका छन् । यस्तै २०८१ मंसिर महिनामा मोबाइल बैंकिङमार्फत तीन खर्ब ८८ अर्ब ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कात्तिकमा तीन खर्ब ७४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबर कारोबार भएको थियो ।

मोबाइल बैंकिङपछि भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेको वालेटको प्रयोगकर्ता धेरै छन् । मंसिर मसान्तसम्म दुई करोड ५६ लाख ६२ हजार ९० जनाले मोबाइल वालेटको प्रयोग गरेका छन् । मोबाइल वालेटबाट २०८१ मंसिरमा मात्रै ४० अर्ब ७८ करोड ५० लाख रुपैयाँ कारोबार भएको छ । कात्तिकमा ३७ अर्ब ३१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

डेबिट कार्ड प्रयोगकर्ताको संख्या एक करोड ३२ लाख १८ हजार १९२ पुगेको छ । मंसिरमा डेबिट कार्डबाट ९० अर्ब ७८ करोड रुपैयाँ कारोबार भएको छ । 

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । मंसिरसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २० लाख ८८ हजार ८३१ पुगेको छ । यस्तै मंसिरमा इन्टरनेट बैंकिङबाट १७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै कनेक्ट आइपीएस प्रयोगकर्ताको संख्या पनि १३ लाख ५० हजार ७६९ पुगेको छ । यसबाहेक आइपीएस, इसीसी, आरटीजिएस, ब्रान्चलेस बैंकिङ सेन्टर्स, प्रिपेड कार्ड, क्रेडिट कार्ड, एटीएम मसिनबाट हुने कारोबार पनि बढेको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस