वस्तु तथा सेवा खरिद गर्दा गरिने विद्युतीय भुक्तानीमा कुनै शुल्क लाग्दैन - राष्ट्र बैंक
बैंकको खबर । तपाईले कुनैपनि विक्रेताबाट वस्तु तथा सेवा खरिद गर्नुभयो र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा कुनै शुल्क तिर्नुपरेको छ भने सावधान रहनुहोला । किनभने उपभोक्ताले वस्तु तथा सेवा खरिद गरेबापत मोबाइल एप, क्यूआर कोड, कार्ड वा पस मेसिन जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा भुक्तानीकर्तालाई वस्तु तथा सेवाको मूल्य बाहेक अन्य कुनैपनि शुल्क तिर्नुपर्दैन ।
बिक्रेताले खरिदकर्तासँग वस्तु तथा सेवा बिक्री गरेको रकमबाहेक अतिरिक्त रकम असुल गर्न पाउने छैनन् । वस्तु तथा सेवा बिक्री गर्ने बिक्रेताले व्यवसायिक कारोबारको रकम व्यावसायिक खातामा भुक्तानी लिँदा विद्युतीय माध्यमबाट हुने भुक्तानीमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था छ ।
व्यवसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तानी लिए मात्र त्यस्तो शुल्क लाग्ने भएकाले वस्तु तथा सेवा बिक्रेताले व्यक्तिगत खातामा भुक्तानी लिनु गैरकानुनी भएको राष्ट्र बैंकले जनाएको छ ।
आयकर ऐन, २०५८ ले समेत त्यस्तो कार्य वर्जित गरेको हुँदा व्यावसायिक कारोबारको भुक्तानी व्यक्तिगत खाता वा वालेटमा नगर्न र व्यावसायिक खातामै मर्चेन्ट क्यूआर मार्फत भुक्तानी गराउन राष्ट्र बैंकले आव्हान गरेको छ ।