वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर, चार जना दोषी
२०८१ मंसिर २१ गते शुक्रबार ।
काठमाडौँ । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गरेको छ । विशेष अदालतले भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई ररितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । अदालतले उनीहरुबाट एक अर्ब ४७ करोड १० लाख रुपैयाँ जरिवाना बिगो जरिवाना गरेको छ ।
विशेष अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष नौ महिना कैद हुने फैसला गरेको छ । कङ्साकारले ज्येष्ठ नागरिक ऐनअनुसार ५० प्रतिशत सजाय छुट पाउने छन् । यूतै बिगो एक अर्ब ४७ करोड १० लाखको दामासाही हुने १२ करोड २५ लाख ९० हजार चार सय ५६ रुपैयाँ जरिवाना गरिएको छ ।
निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई एक वर्ष नौ महिना कैद सजाय सुनाएको छ । उनीमाथि पनि दामासाहीले हुने १२ करोड २५ लाख ९० हजार चार सय ५६ रुपैयाँ जरिवाना तिराउने फैसलामा उल्लेख छ ।
विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना र पर्यटन मन्त्रालयका तत्कालीन सहचिव बुद्धिसागर लामिछानेलाई पनि एक वर्ष छ महिना कैद सजाय सुनाएको छ । दुवै जनालाई जनही कुल बिगोको दामासाही हुने १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना हुने फैसला गरेको छ ।
अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवानाको फैसला गरेको छ ।
अदालतले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई भने सफाइ दिएको छ । उक्त प्रकरणमा दुई विदेशीसहित २७ प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिदमा भ्रष्टाचार भएको उल्लेख गर्दै मुद्दा दायर गरेको थियो ।