त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द, उडान ३० प्रतिशत कटौति हुने 


काठमाडौं, २०८१ कात्तिक २३

कर्पोरेट खबर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न आजदेखि करिब पाँच महिनासम्म दैनिक १० घण्टा उडान बन्द गरिने भएको छ । विमानस्थल बन्द गरिँदा ३० प्रतिशत उडान कटौती हुने वायु सेवा सञ्चालक संघले जनाएको छ ।

प्राधिकरणले आज (कात्तिक २३ गते)देखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्दैछ । जसका कारण साविकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरेको छ ।

मर्मत कार्यका लागि विमानस्थल बन्द गरिँदा ३० प्रतिशत उडान बन्द हुने र ठूलो घाटा ब्यहोर्नुपर्ने भन्दै वायु सेवा सञ्चालक संघले स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न विज्ञप्ति जारी गरेर माग गरेको छ । 

संघले विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

‘सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माणकार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनी अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुन जानेतर्फ सम्बन्धित सरोकारवाला निकाय चनाखो भई स्तोरोन्नति तदारुक्ताका साथ गरिदिनुहुन संघ जोडदार माग गर्दछ’ संघले जारि गरेको विज्ञप्तिमा भनिएको छ ।

शेयर गर्नुहोस