ग्लोबल आइएमईको नाफा डेढ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति
बैंकको खबर । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २३.३६ प्रतिशत बढी हो । गतवर्ष पहिलो त्रैमासमा बैंकले एक अर्ब २२ करोड ५७ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोडमा झरेको छ भने सञ्चालन नाफा १९.४० प्रतिशतले बढेको छ ।
बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएपनि इम्पेरिमेन्ट चार्ज घटेको र सञ्चालन नाफा बढेको कारण खुद नाफा बढ्न पुगेको हो । बैंकको इम्पेरिमेन्ट चार्ज एक अर्ब ७८ करोडबाट घटेर एक अर्ब सात करोडमा झरेको छ ।
बैंकको खराब कर्जा ४.३८ प्रतिशतबाट बढेर ४.६७ प्रतिशत पुगेको छ ।
हाल ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८९ करोड रुपैयाँ जम्मा छ ।
बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ तीन पैसाले बढेर १६ रुपैयाँ ७४ पैसा कायम भएको छ । गतवर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा थियो । यस्तै प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ भने मुल्य आम्दानी अनुपात १५.७१ गुण छ ।
बैंकको वितरणयोग्य मुनाफा पहिलो त्रैमासमा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।
All banking information at your fingertips.