समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु


बीमा खबर । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिआइआइ २०२४) आजदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउन्डेसन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन आयोजना भएको हो ।

नेपाल बीमा प्राधिकरणले कात्तिक ९ गतेसम्म सम्मेलन सञ्चालन हुने जानकारी दिएका छन् । सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

जलवायु जोखिम बीमा, लघुबीमामा  ‘डिजिटल’ प्रविधि अवलम्बन र समावेशी बीमा क्षेत्रका अवरोध हटाउनेसम्बन्धी रणनीति तयार गर्नेलगायत विषयमा पनि छलफल केन्द्रित हुने छ । 

सम्मेलनमा नेपालसहित ४४ देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी चार सयभन्दा बढीको सहभागिता छ ।

 

२०८१ कात्तिक ६ गते मंगलबार ।

शेयर गर्नुहोस