ढुकुटीमा विदेशी मुद्रा थुप्रिएपछि राष्ट्र बैंकले बढायो डलर सटहीको सीमा
बैंकको खबर । ढुकुटीमा विदेशी मुद्रा थुप्रिदै गएपछि राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा खुकुलो नीति लिएको छ । बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत परिपत्र जारी गर्दै विदेशी मुद्रा सटहीमा खुकुलो व्यवस्था गरेको हो । साथै वस्तु आयातका लागि गरिने बैंक ग्यारेन्टी (एलसी)को अवधिमा पनि लचक बनेको छ ।
जापान, दक्षिण कोरिया, युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जाने नेपालीलाई अधिकतम ५ सय अमेरिकी डलरसम्म सटही सुविधा उपलब्ध गराउने भएको छ । अन्य मुलुक जाँदा २ सय डलरसम्म सटही सुविधा पाउने व्यवस्था छ ।
अष्टेलिया पढ्न जाने बिधार्थीले पनि ५ सय डलर सटही सुविधा पाउने छन् । अन्य देशका लागि भने पुरानै व्यवस्था कायम गरिएको छ ।
विदेशमा उपचार गराउने तथा औषधि उपकरण खरिदका लागि विदेशी मुद्रा सटहीको सीमा १० हजारबाट बढाएर १५ हजार पुयाइएको छ ।
विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा खुलेका शिक्षण संस्थाहरुलाई सम्बन्धन, परीक्षा लगायत शुल्कहरुको भुक्तानीका लागि २५ हजार डलरसम्म सटही सुविधा कायम गरिएको छ । यसअघि यस्ता संस्थाहरुलाई बैंक तथा वित्तीय संस्थाले १२ हजार डलर मात्रै सटही सुविधा दिन सक्ने व्यवस्था थियो ।
होटलहरुमा ग्राहकलाई ३ सय डलरसम्मको मात्रै सहटी सुविधा रहेकोमा त्यसलाई बढाएर १ हजार डलर पुर्याइएको छ ।
राष्ट्र बैंकले सामान आयात गर्ने आयातकर्ताले पेस गर्नुपर्ने ट्रान्सपोर्ट डकुमेन्टको अवधि पनि बढाएको छ । सामान आयात गर्नको लागि ‘कपि डकुमेन्ट’ को आधारमा ६० दिनभित्र ‘ओरिजिनल डकुमेन्ट’ पेश गर्ने व्यवस्था गरेको छ । यसअघि ४५ दिनभित्र ‘ओरिजिनल डकुमेन्ट’ पेश गरिसक्नुपर्ने व्यवस्था रहेको थियो ।
सामान आयात गरेपछि भुक्तानी गरिने विदेशी मुद्रा सटही सुविधाको अवधिसँगै सामान आयात गर्नुपर्ने अवधि पनि बढाएको छ । सटही सुविधा प्रदान भएको १२० दिन भित्र सामान आयात गरिसक्नु पर्नेछ । यसअघि ९० दिन भित्र सामान ल्याउनुपर्ने व्यवस्था थियो ।
राष्ट्र बैंकको यो व्यवस्थाले आयातकर्ता, पर्यटन क्षेत्र, औषधि तथा उपकरण आयातकर्ता, विदेश अध्ययनमा जाने विद्यार्थी, विदेश भ्रमणमा जाने व्यक्ति र नेपालमा काम गर्ने विदेशी नागरिक तथा होटल क्षेत्रलाई सहज हुनेछ ।
All banking information at your fingertips.