उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत


बैंकको खबर । २०८१ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत थियो । 

गत भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफुलको ४.९४ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन ।

ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले बढेको छ ।

 

२०८१ असोज २९ गते मंगलबार ।

शेयर गर्नुहोस