सेयरबजारमा गिरावट, पाँच अर्ब ६६ करोडको कारोबार
सेयर खबर । सेयरबजारमा सोमबार उच्च अंकको गिरावट भएको छ । कारोबार मापक नेप्से परिसूचक ५९.०२ अङ्कले घटेर २५२९.३३ अंकमा कायम भएको छ ।
पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ रुपैयाँको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४४ कम्पनीमध्ये २२९ वटाको सेयरमूल्य घट्दा बजार दबामा परेको हो । बजारमा गिरावट भएपनि १४ कम्पनीको सेयरमूल्य बढेको छ भने एक वटाको स्थिर रहेको छ । हिमायलन हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत बढेको छ ।
चारवटा कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । गुडविल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, एनआइसी एसिया फ्लेक्स क्याप फन्ड र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको हो
आज सबै समूह घटेका छन् । सबैभन्दा धेरै वित्त समूहको ५.५६ प्रतिशतले घटेको छ । बैंकिङ १.२७, विकास बैंक २.४६, होटल तथा पर्यटन ३.३४, जलविद्युत् २.८९ र लगानी २.७३ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूह २.३५, उत्पादन तथा प्रशोधन १.८१, लघुवित्त २.५६, म्युचुअल फन्ड ०.४८, निर्जीवन बीमा २.६९, व्यापार ३.९३ र अन्य समूह २.२२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २१ करोड १३ लाख ४२ हजार सात सय ३२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।