बैंकहरुले घटाए ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज ?
बैंक खबर । अधिकांश वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले सोमबार मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका छन भने ८ बैंकले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटा बैंकले ब्याजदर बढाएका छन् ।
समग्रमा वाणिज्य बैंकहरुको ब्याजदर औसत ०.१५ प्रतिशत विन्दुले घटेको छ । औसत ब्याजदर ६.३८ प्रतिशत कायम भएको छ । मदौमा औसत ब्याजदर ६.५३ प्रतिशत थियो ।
नेपाल बैंक र कृषि विकास बैंकले असोज महिनाका लागि बयाजदर केही बढाएका छन् । राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र एनएमबि बैंकले ब्याजदर घटाएका छन् । ग्लोबल आइएमई, स्टाण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, सिद्धार्थ, हिमायलन, माछापुच्छ्रे र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् ।
प्रणालीमा अधिक तरलताको अवस्था छ । कर्जा विस्तार हुन सकिरहेको छैन । प्रणालीमा अधिक तरलता हुने र कर्जाको माग नहुने अवस्था आएपछि बैंकहरुले प्रत्येक महिना ब्याजदर घटाउँदै लगेका छन् । पछिल्लो समय बैंकहरुबीच ब्याजदर घटाउन प्रतिस्पर्धा नै चलेको छ । ब्याजदर घट्दा कर्जाको माग बढ्न सक्छ । बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गर्नेहरुलाई नोक्सान हुने भएकाले प्रणालीमा निक्षेप संकलन घट्दै जान्छ । यसो हुँदा तरलता व्यवस्थापनमा सहज हुन्छ । समग्रमा ब्याजदर घट्दा लगानीको वातावरण बन्छ ।
वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर (प्रतिशत)
बैंकको नाम | २०८१ असोज | २०८१ भदौ | फरक |
नेपाल बैंक | ५.९५ | ५.२५ | ०.७ |
कृषि विकास बैंक | ६.०७ | ६.०६ | ०.०१ |
राष्ट्रिय वाणिज्य बैंक | ६ | ६.०७ | –०.०७ |
एभरेष्ट बैंक | ६ | ६.१ | –०.१० |
एनआईसी एसिया बैंक | ७.१८ | ७.४१ | –०.२३ |
नबिल बैंक | ६.७५ | ७ | –०.२५ |
नेपाल एसबिआई बैंक | ६ | ६.२५ | –०.२५ |
सानिमा बैंक | ५.९ | ६.२ | –०.३० |
सिटिजन्स बैंक इन्टरनेशनल | ६.१५ | ६.५ | –०.३५ |
प्राइम कमर्सियल बैंक | ६.२५ | ६.७५ | –०.५० |
कुमारी बैंक | ६.०१ | ६.७१ | –०.७० |
एनएमबि बैंक | ६.५ | ७.४१ | –०.९१ |
ग्लोबल आइएमई बैंक | ६.२५ | ६.२५ | ० |
स्टाण्डर्ड चार्टर्ड बैंक | ७ | ७ | ० |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ६.५ | ६.५ | ० |
लक्ष्मी सनराइज बैंक | ६.५ | ६.५ | ० |
सिद्धार्थ बैंक | ६.५ | ६.५ | ० |
हिमालयन बैंक | ७ | ७ | ० |
माछापुच्छ्रे बैंक | ७ | ७ | ० |
प्रभु बैंक | ६.१ | ६.१ | ० |
औसत ब्याजदर | ६.३८ | ६.५३ | –०.१५ |
All banking information at your fingertips.