सेयरबजार फेरि घट्यो, १० अर्ब बढीको कारोबार


बैंकको खबर । सेयरबजारमा आइतबार गिरावट आएको छ । नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा कायम भएको छ ।

लगातार छ कारोबार दिनसम्म घटेको नेप्से गत साताको अन्तिम कारोबार दिन बिहीबार ७८.३१ अंकले बढेको थियो । त्यसपछि कतिपय लगानीकर्ताले अब करेक्सन सकिएको अनुमान गरेका थिए । तर आइतबार कारोबार समयको अन्तिम आवरमा बिक्रीचाप बढ्दा बजारमा गिरावट देखिएको हो । 

आज २४४ कम्पनीको सेयर कारोबार हुँदा २१७ वटाको सेयरमूल्यमा गिरावट आएको छ । २५ वटाको सेयरमूल्य बढेको छ भने दुई वटाको स्थिर रह्यो ।

१० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँको दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । फाइनान्स र होटल तथा पर्यटन समूहमा तेजि गिरावट आएको छ । 

बजारमा गिरावट आएपनि रिभर फल्स पावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६४ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

शेयर गर्नुहोस