बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जानुको खास कारण के हो ?
बैंकको खबर । बैंकिङ प्रणालीमा निक्षेपको आकार बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ १३ गते बिहीबारको तथ्यांकअनुसार बैंकहरुको निक्षेप संकलन ६४ खर्ब ६१ अर्ब पुगेको छ । जुन एक दिन अघि भदौ १२ गतेको तुलनामा चार अर्ब रुपैयाँले बढी हो ।
पछिल्लो समय उपभोग घट्दै जाँदा बजार चलायमान बन्न सकेको छैन । आन्तरिक उत्पादन र आयात दुवै घटेको छ । वस्तुको माग कमजोर हुँदा उद्यमीहरुले थप लगानी गरेर उत्पादन बढाउन सकेका छैनन् । लगानी गरेर भन्दा बैंकमा निक्षेप राखेर ब्याजखानेहरु बढेका छन् । बैंकबाट कर्जा लिएर लगानी गर्नेहरु पनि निकै कम छन् । घरजग्गा कारोबार बढ्न सकेको छैन । सेयरबजारमा मानिसहरुले लगानी बढाएपनि केही दिन यता घट्न थालेको बजारका कारण फेरि नोक्सानी हुने होकी भन्ने आशंका लगानीकर्तामा छ । यहीकारण प्रोफिट बुक बढ्न थालेको छ । सेयरबजारमा प्रोफिट बुक भएको केही पैसा अटो बजारमा गएको छ भने केही बैंकमै निक्षेपको रुपमा फर्किने देखिन्छ । त्यसो हुँदा बैंकहरुको निक्षेप बढ्ने सम्भावना अझ बढेको विश्लेषकहरु बताउँछन् ।
बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा रकम ५१ खर्ब ९३ अर्ब रुपैयाँ छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९५ प्रतिशत छ । यस आधारमा बैंकहरुसँग थप छ खर्ब २२ अर्ब रुपैयाँ लगानी योग्य रकम छ ।
निक्षेप बढ्दै जाने तर कर्जाको माग कम हुने भएपछि बैंकहरुले कर्जालाई आकर्षित गर्न ब्याजदर घटाउँदै लगेका छन् । तर पनि कर्जाको माग बढ्न सकेको छैन । यसको मूख्य कारण उपभोग नै हो । केही समयअघि महँगीका कारण उपभोग घटेको भनिएको थियो । तर अहिले ब्याजदर पनि सस्तो छ र महँगी दर पनि घटेको अवस्था छ । तरपनि उपभोग बढ्न सकेको छैन ।
सरकार र नियामक निकायहरुले उपभोग बढ्न नसक्नुको कारण खोजि गर्नुपर्ने विश्लेषकहरु बताउँछन् । उपभोग बढ्न नसक्दा सम्म बजार चलायमान नहुने र वित्तीय क्षेत्रमा निक्षेप थुप्रिएर समस्या बढ्दै जाने जोखिम देखिएको छ ।
All financial information at your fingertips.