कर्जाको माग न्यून भएपछि राष्ट्र बैंकमा पैसा थुपार्दै बैंकहरु


बैंकको खबर । बैंक तथा वित्तीय संस्थामा अहिले ६ खर्ब १५ अर्ब रुपैयाँ लगानी योग्य पैसा छ । गएको आर्थिक वर्षको सुरु देखि नै वित्तीय प्रणालीमा निक्षेप बढ्दै गएको तर आर्थिक गतिविधि न्यून हुँदा कर्जाको मागमा कमी आएको छ । 

रेमिट्यान्स आप्रवाह निरन्तर बढ्दै गएको छ तर उपभोग खुम्चिदै गएको छ । महँगीले उपभोग न्यून भएका बेला रेमिट्यान्स आप्रवाह बढ्न जाँदा बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको छ । निक्षेमा भएको वृद्धिको तुलनामा कर्जा प्रवाह बढ्न सकेको छैन । किनभने वस्तुको माग न्यून भएपछि उद्योगीहरुले बैंकबाट कर्जा लिएर उत्पादन बढाउने काम गरेका छैनन् । 

बैंकहरुले अधिक भएको तरलता राष्ट्र बैंकमा राखेर व्यवस्थापन गर्दै आएका छन् । राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (एसडिएफ) तथा निक्षेप संक्लन उपकरणको प्रयोगबाट अधिक तरलता व्यवस्थापन गर्दै आएको छ । 

चालू आर्थिक वर्ष सुरुभएपछि अहिलेसम्म बैंकहरुले ४३ खर्ब ८८ अर्ब ६५ करोडको स्थायी निक्षेप सुविधा (एसडिएफ) उपयोग गरेका छन् । साउन महिनामा मत्रै बैंकहरुले १४ पटक गरेर सो रकम राष्ट्र बैंकमा राखेका हुन् ।

आर्थिक वर्ष सुरुभएयता राष्ट्र बैंकले छ पटक सम्म निक्षेप संकलन उपकरण बिक्री गरि कुल एक खर्ब ८७ अर्ब ८० करोड रुपैयाँ प्रणालीबाट तानेको छ । राष्ट्र बैंकले कुल तीन खर्ब १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण अफर गरेकोमा बैंकहरुले तीन खर्ब ३० अर्ब ६० करोड रुपैयाँ बोलकबोल गरेका थिए । 

आइतबार राष्ट्र बैंकले जारी गरेको १ खर्बको निक्षेप संकलनका लागि २५ संस्थाले ५५ वटा आवेदनमार्फत एक खर्ब ९६ अर्ब २५ करोड रुपैयाँ राख्न आवेदन दिएका थिए । राष्ट्र बैंकले थोरै ब्याजदर कबो गर्नेलाई प्राथमिकतामा राखेर निक्षेप तानेको छ । आइतबारको निक्षेप संकलनको औसत ब्याजदर २.८८३३ प्रतिशत कायम भएको छ । 

बैंकिङ प्रणालीमा निक्षेप थुप्रिदै गएपछि केन्द्रीय बैंकलाई अधिक तरलता व्यवस्थापन गर्न सकस परेको छ । 

अहिले वित्तीय प्रणालीम ६४ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ६२ अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरुले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । अहिले बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९८ प्रतिशत छ । बैंकहरुसँग थप छ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने क्षमता छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस