विदेशी विनिमय सञ्चिति २० खर्ब नाघ्यो, १५ महिना १८ दिनको वस्तु आयात पुग्ने
बैंकको खबर । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । जुन एक वर्ष अघिको तुलनामा ३२.६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्तिममा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्घि भई १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
२०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ ।
१५ महिना १८ दिनको वस्तु आयात गर्न पुग्ने
आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिना १८ दिनको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।
All financial information at your fignertips.