विश्वव्यापी आर्थिक वृद्धिमा सुधार हुने आइएमएफको प्रक्षेपण

विश्वव्यापी आर्थिक वृद्धिमा सुधार हुने आइएमएफको प्रक्षेपण

बैंक खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२४मा विश्वको आर्थिक वृद्धि तीन दशमलव एक प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । आइएमएफले मंगलबार विश्व आर्थिक दृष्टिकोण सार्वजनिक गर्दै गत अक्टोबरमा गरेको प्रक्षेपण भन्दा शून्य दशमलमव दुई प्रतिशत विन्दुले बढी आर्थिक वृद्धि हासिल हुने नयाँ प्रक्षेपण गरेको हो ।

आइएमएफले सन् २०२५मा तीन दशमलव दुई प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ । ठूला उदीयमान बजार र विशाल अर्थतन्त्र भएका मुलुकमा अप्रत्याशित लचिलोपन अपनाइएका कारण विश्वको वृद्धि प्रक्षेपण बढाएको हो ।

उच्च ब्याजदरको निरन्तर प्रभाव, महामारीसँग सम्बन्धित सरकारी समर्थन फिर्ता हुनु र उत्पादकत्वको निरन्तर न्यूनस्तरका कारण यसवर्ष वैश्विक वृद्धि तीन दशमलव आठ प्रतिशतको हालको औसतभन्दा तल रहने अनुमान गरेको छ ।

आइएमएफले उन्नत अर्थतन्त्र भएका जी सेभेन मुलुकको वृद्धि कमजोर रहेको उल्लेख गरेको छ । जापान र क्यानडाको अर्थतन्त्र केही राम्रो रहने अपेक्षा गरेको छ ।

आपूर्ति पक्षका समस्याहरु र प्रतिबन्धित मौद्रिक नीतिको बिचमा मुद्रास्फीति अपेक्षित भन्दा छिटो घट्ने अनुमान पनि आइएमएफले गरेको छ । सन् २०२४मा मुद्रास्फीति पाँच दशमलव आठ प्रतिशत र सन् २०२५मा चार दशमलव चार प्रतिशतमा झर्ने अपेक्षा गरेको छ ।

उन्नत अर्थतन्त्र भएका मुलुकको मुद्रास्फीति सन् २०२४मा दुई दशमलव छ प्रतिशत हुने अनुमान गरेको छ भने उदीयमान र विकासशील अर्थतन्त्रहरुमा वार्षिक मुद्रास्फीति दर शून्य दशमलव तीन प्रतिशतले बढेर आठ दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

All financial information at your fingertips.


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस