ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाइ आजसम्म खरिद गर्न सकिने

बैंकको खबर । माग भन्दा बढी इकाइको लागि आवेदन प्राप्त भएपछि ग्लोबल आइएमई बैंक कोष प्रवद्र्धक तथा ग्लोबल आइमई क्यापिटल योजना व्यवस्थापक रहि ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को बिक्री निष्काशन आज (२०८२ असार २७ गते शुक्रबार) बैंकिङ समयपछि बन्द हुने भएको छ ।
‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को प्रति इकाइ १० रुपैयाँ दरको १२ करोड इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाइ संख्याको न्युनतम् १५ प्रतिशत इकाइ मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १.५ प्रतिशत अर्थात १८ लाख इकाइ तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंकको लागि १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाइ बीज पूँजीको रुपमा राखी बाँकि १० करोड २० लाख इकाइ २०८२ असार २२ गते आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको थियो ।
सर्वसाधारण आवेदकहरुबाट माग भन्दा बढी इकाइको लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई निष्कासन खुल्ला हुने अन्तिम दिन असार २७ गते बैंकिङ समयसम्म आवेदन गर्न सकिने भएकोले सो समयसम्म माग भन्दा बढी थप २५ प्रतिशत इकाइको लागि आवेदन प्राप्त भई योजनाको आकार १ अर्ब ५० करोड पुग्ने विश्वास बैंकले लिएको छ ।