सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

२०८२ जेठ १९ गते सोमबार ।
बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।
इन्स्योरेन्सले वैशाख ३० गतेदेखि २० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । अब सेयरधनीले असार ३ गतेसम्म हकप्रदा सेयरमा आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
इन्स्योरेन्सले हकप्रद सेयरका लागि वैशाख ५ गते बुकक्लोज गरेको थियो । त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सेयर खरिदका लागि आवेदन गर्न सक्नेछन् ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्री भएपछि इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।