आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

२०८२ जेठ १५ गते बिहीबार ।

काठमाडौँ । आज गणतन्त्र दिवस । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले आजकै दिन २४० वर्षदेखि रहँदै आएको राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही एतिहासिक दिनको सम्झनास्वरुप आज गणतन्त्र दिवस मनाउने गरिन्छ ।

जेठ १५ गतेकै दिन नेपाली जनतालाई  स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो ।

अठारौँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायतको सहभागिता रहनेछ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्नेमा जोड दिएका छन् । यस्तै, शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । 

लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । 
 
यसैगरि लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध जनाउने विभिन्न पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन् । 


शेयर गर्नुहोस