बैंकहरुले जेठ १८ देखि सीआरआरको दैनिक ९० प्रतिशत राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने

२०८२ जेठ १४ गते बुधबार ।
बैंकको खबर । बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दात (सीआरआर)को दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने भएको छ ।
बुधबार केन्द्रीय बैंकले परिपत्र जारी गर्दै जेठ १८ गतेदेखि लागू हुनेगरि कूल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्न निर्देशन दिएको हो ।
यसअघि अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ७० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था थियो। अहिले औसत दुई हप्ताको औसत निक्षेपको ४ प्रतिशतले हुन आउने रकमको ९० प्रतिशत रकम राख्नुपर्ने व्यवस्था गरेको हो ।
यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको शून्य व्याज दरमा राष्ट्र बैंकमा राख्नुपर्ने रकम बढ्नेछ । जसले गर्दा बैंकहरुको लागत बढ्छ । यसको असर ब्याजदरमा पर्न सक्छ ।