सेयर धितो कर्जाको जोखिमभार घटेपनि बढेन सेयरबजारमा माहोल, नेप्से घट्यो

सेयर धितो कर्जाको जोखिमभार घटेपनि बढेन सेयरबजारमा माहोल, नेप्से घट्यो

२०८२ जेठ १२ गते सोमबार । 

बैंकको खबर । सेयरबजार सोमबार पनि घटेको छ । कारोबारमापक नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा कायम भएको छ । 

आइतबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासीका समीक्षा मार्फत सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेपछि आज (सोमबार) बजारमा चहलपहल बढ्ने अपेक्षा गरिएको थियो । यस दिन ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच भएको छ । 

एउटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई वटा कमपनीको सेयर कारोबार नकारात्मक सर्किट लेबलमा भएको छ । 

सेयर लगानीकर्ताले लामो समयदेखि सेयर धितोकर्जाको जोखिमभार घटाउन माग गर्दै आएका थिए । सेयर कर्जाको जोखिमभार घटाउँदा बजारमा लगानी बढ्न जाने र सेयरको माग बढ्न गई मूल्य बढ्ने अपेक्षा लगानीकर्ताको थियो । तर केन्द्रीय बैंकले लगानीकर्ताको माग सम्बोधन गरेपनि बजारले सकारात्मक सपोर्ट भने गरेन । 

आज बैंकिङ र उत्पादन तथा प्रशोधन बाहेक सबै समूह घटेका छन् । 

कारोबार भएका २४७ कम्पनीमध्ये १५५ वटाको सेयरमूल्य घटेको छ भने ९२ वटाको बढेको छ ।


शेयर गर्नुहोस