सान्भि इनर्जीको आईपीओ आजबाट खुल्ला

२०८२ जेठ ९ गते शुक्रबार ।
बैंकको खबर । सान्भि इनर्जी लिमिटेडले आज (जेठ ९ गते शुक्रबार)देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
सान्भिले आफ्नो जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशत (८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता) आइपीओ आयोजना प्रभावितका स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता साधारण सेयर बिक्री गरिसकेको छ ।
आजबाट निष्काशन हुने आईपीओमा सर्वसाधारणले जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म कम्पनीले माग गरेजति बिक्री नभएमा निष्काशन अवधि जेठ २३ गतेसम्म लम्बिनेछ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।