पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ माघ १८ गते शुक्रबबार 

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

मूल्य समायोजनसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रका लागि एक सय ६६ रुपैयाँ र पोखरा र दिपायल क्षेत्रका लागि प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । 

यस्तै डिजेल र मट्टितेल चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रका लागि एक सय ५९ रुपैयाँ र पोखरा र दिपायल क्षेत्रका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ । 

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ । 

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९ रुपैयाँ, डिजेलमा ३.५७ रुपैयाँ तथा हवाई इनधनमा ५.७० रुपैयाँ मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । 


शेयर गर्नुहोस