लहान शाखा कार्यालयको घटनाबारे कृषि विकास बैंकको ध्यानाकर्षण
२०८१ पुस २६ गते शुक्रबार ।
बैंकको खबर । कृषि विकास बैंकले आफ्ना लाहान शाखा कार्यालयका कर्मचारी तथा व्यवस्थापनसम्बन्धी विभिन्न भ्रमपूर्ण समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सार्वजनिक रूपमा स्पष्टीकरण जारी गरेको छ। बैंकले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक संजाल तथा सञ्चार माध्यमहरुमा प्रकाशित कपोलकल्पित तथा भ्रमपुर्ण समाचार आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । यस्तै, अत्यावश्यक बैंकिङ सेवा ठप्प हुनेगरी दैनिक कामकाज गर्न वाधा पुग्ने गरी बैंकमा तालावन्दी ढुङ्गामुढा र होहल्ला गरि बैंकिङ सेवा वन्द गर्ने कार्य भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
यसरी सत्य तथ्य भन्दा बाहिर गई वास्तविकता भन्दा फरक ढंगले सम्प्रेषित समाचार तथा अराजक गतिविधिले बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम श्रृजना भएको र बैंकको सेवा प्रवाह अवरुद्ध भएको बैंकले जनाएको छ । यस खालका अमर्यादीत एवं अवाञ्छित व्यवहार गरी बैंक जस्तो संवेदनशिल स्थानमा हुलहुज्जत भएको घटनाको सम्बन्धमा सत्य तथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्पे्रषण गर्न बैंकले आग्रह गरेको छ ।
बैंकले उक्त घटनाको पूर्ण विवरणसहित आवश्यक अनुसन्धान कार्य अघि बढाई सकिएको जनाएको छ। साथै, नियमानुसार सम्बन्धित पक्षहरूसँग आवश्यक कानूनी प्रक्रिया समेत अघि बढाएको छ। बैंकले भनेको छ, ‘हाम्रो उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो। यस प्रकारका तथ्यहीन कुराहरूले बैंकको छवि बिगार्ने प्रयास भएको छ, जसलाई बैंकले गम्भीर रूपमा लिएको छ ।
लामो समयसम्म कजौ चुक्ता नगरेपछि बैंकले पटकपटक सूचना दिएर पनि ऋणी रामचन्द्र यादवले चासो नदिएपछि कानुनसम्मत लिलामी प्रक्रियाबाट कर्जा अशुली गरेको विषयलाई लिएर लहान शाखामा अहिले ऋणी यादवले विरोध प्रदर्शन गरिरहेका छन् ।
धितो लिलामी प्रकृयामा असहमति जनाई ऋणी/धितो जमानत दाता समेतको संलग्नतामा पुस ११ र २३ गतेका दिन केही व्यक्तिहरुले बैकको लहान शाखाको प्रांगण आसपास तथा लहान बजार भरी भ्रम सिर्जना हुनेगरी गलत प्रचार प्रसार नाराबाजी गरेको, हुल हुज्जत गरेको र सामाजिक संजाल तथा अन्य सञ्चार माध्यममा सत्य तथ्य विपरित अनर्गल तथा कपोलकल्पित समाचार सम्प्रेषण गरेको बैंकले उल्लेख गरेको छ । साथै उनीहरुले जनमानसमा भ्रम श्रृजना गर्ने तथा बैंकको नियमित कारोवार सञ्चालनमा बाधा पुग्नेगरी कार्यालयमा तालावन्दी गर्नुका साथै कर्मचारीहरुमाथि अमर्यादीत तरिकाले गालि गलौज र धाकधम्की दिई बैंकको मुल गेटमा समेत पाल विच्छाई धर्नामा वसी बैंक सञ्चालनमा बाधा पु¥याएका छन् । पुस २५ गते पनि पुनः निज ऋणी सहितको भीड जम्मा भई बैंकको लहान शाखामा तालावन्दी गर्ने, ढुङ्गामुढा तथा तोडफोड गर्ने जस्ता अवाञ्छित गतिविधि गरी बैंकको भौतिक सम्पत्तिको नोक्सानी गराउने, बैंकको सेवा अवरुद्ध गराउने तथा बैंक कर्मचारीहरुको सुरक्षामा समेत गंभीर आँच आउन सक्ने खालका गैरकानूनी तथा अवाञ्छित कार्य भएको बैंकले जनाएको छ ।
बैंकले सम्बन्धित ऋणी लगायत आन्दोलन र धर्ना दिने व्यक्तिहरु कानूनी उपचार खोज्नु भन्दा पनि बैंकको बदनाम तथा विरोध गर्ने र अफवाह फैलाउने, बैंकको भौतिक सम्पत्तिको क्षति गराउने, बैंक कर्मचारीहरुको मनोवल गिराउने तथा समग्र बैंकिङ सेवा अवरुद्ध गराउने तर्फ उद्यत देखिएको भन्दै यस्तो अवाञ्छित गतिविधि प्रति बैंकले आपत्ति प्रकट गरेको छ ।
लिलाम प्रक्रिया चित्त नबुझेको खण्डमा कर्जा ग्राहक नियमानुसार कानूनी प्रकृयामा जानसक्ने अवस्था हुँदा हुँदै बंैक जस्तो सम्बेदनशील सस्ंथाको सेवा अवरुद्ध हुने गरी बाधा व्यवधान सिर्जना गर्नु उचित नहुने उल्लेख गर्दै बैंकको सेवा निर्वाध रुपमा सञ्चालन हुने वातावरण निर्माणका लागि अनुरोध गरेको छ ।