ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने
२०८१ पुस १ गते सोमबार ।
बैंकको खबर । युरोपेली केन्द्रीय बैंक (ईसीबी)का अध्यक्ष क्रिस्टीन लेगार्डले युरोक्षेत्रमा ब्याजदर थप कटौती हुनसक्ने बताएकी छन् । उनले युरोक्षेत्रको मुद्रास्फीति ईसीबीको दुई प्रतिशतको लक्ष्यतर्फ झरेमा ब्याज दरमा थप कटौती गर्न सकिने बताएकी हुन् ।
बैङ्क अफ लिथुआनियामा आयोजित एक सम्बोधनमा लेगार्डले भनिन, “यदि आउने तथ्यांकले हाम्रो आधार रेखालाई पुष्टि गर्ने क्रमलाई जारी राख्छ भने, यात्राको दिशा स्पष्ट छ र हामी ब्याज दरलाई अझ कम गर्ने अपेक्षा गर्दछौँ ।”
मुद्रास्फीति नियन्त्रणमा आउने देखिएपछि ईसीबीले गत साता ब्याजदर कटौती गरेको थियो । मुद्रास्फीतिमा देखिएको सहजता चक्रले ईसीबीको प्रमुख निक्षेप दरलाई चार प्रतिशतको सर्वकालिक उच्च अंकबाट तीन प्रतिशतमा झारेको छ।
केन्द्रीय बैङ्कले उपभोक्ताको मूल्यको चाप कम हुँदै गएपछि मौद्रिक नीतिलाई खुकुलो बनाउँदै आफ्नो सन्देशलाई नरम बनाउँदै लगेको छ ।
सन् २०२२ को अन्त्यमा १० प्रतिशतभन्दा माथि पुगेको युरो क्षेत्रको मुद्रास्फीति गत नोभेम्बरमा २.३ प्रतिशतमा झरेको थियो ।
ईसीबीले सन् २०२५ मा मुद्रास्फीति दर २.१ प्रतिशत र सन् २०२६ मा १.९ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।
All banking information at your fingertips.