सेयरबजारमा भारी गिरावट, २२७ कम्पनीका सेयरधनीले गुमाए, यसकारण घट्यो बजार

सेयरबजारमा भारी गिरावट, २२७ कम्पनीका सेयरधनीले गुमाए, यसकारण घट्यो बजार

२०८१ पुस १ गते सोमबार । 

बैंकको खबर । सेयरबजारमा आज उच्च अंकको गिरावट भएको छ ।  कारोबार मापक नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०।९१ को विन्दुमा झरेको छ । आज कारोबार भएका २४४ कम्पनीमध्ये २२७ वटाका सेयरधनीले गुमाएका छन भने १५ कम्पनीका सेयरधनीले कमाएका छन् । बाँकी दुई कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

पाँच अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता सेयर किनबेच भएको छ । 

आज सबै समूह रातो भएका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ४.४१ प्रतिशत घटेको छ । त्यसपछि व्यापार समूह ३.५५ प्रतिशत, जलविद्युत् २.३६, होटल तथा पर्यटन २.३१, विकास बैंक २.०३, लघुवित्त १.८६, जीवन बीमा १.८२, लगानी १.५६ र बैंकिङ १.४९ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य समूह १.४५ प्रतिशत, निर्जीवन बीमा १.४२, उत्पादन तथा प्रशोधन १.१६ र म्युचुअल फन्ड ०.९१ प्रतिशतले घटेको छ । 

बजार घटेपनि कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.५८ प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै सेयर कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २६ करोड ४५ लाख ९० हजार रुपैयाँ बारबरको सेयर किनबेच भएको छ । 

आज लगानीकर्ताको सम्पत्ति ८६ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । यस्तै साधारण सेयर तर्फको बजार पुँजीकरण पनि २७ अर्ब रुपैयाँ घटेर १४ खर्ब ४९ अर्ब रुपैयाँमा झरेको छ । 

नेप्सेको रेखाचित्र हेर्दा करिब तीन महिना देखिको साइडवेज प्रवृतिलाई तलपट्टि ब्रेक गर्न खोजेको देखिन्छ । नेप्से करिब तीन महिनादेखि २६ सय देखि २८ सयको विन्दुभित्र रहेर तलमाथि गरिरहेको थियो । सोमबार बजारमा एक्कासी ठूलो अंकको गिरावट आउँदा कतिपय लगानीकर्ताले सपोर्ट विन्दु ब्रेक गरेर नेप्से तल झर्नसक्ने आशंका गरेका छन् । किनभने वित्तीय प्रणालीमा अधिक तरलता छ । अधिकांश बैंकहरुले यस अघिका महिनाहरुमा ब्याजदर लगातार घटाउँदै आएका थिए तर अहिले पुसका लागि मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याज घटाएका बैंकको पनि निकै कम घटाएका छन् । यसैको मनोवैज्ञानिक असर सोमबारको बजारमा देखापरेको विश्लेषकहरु बताउँछन् । 

त्यसो त कतिपय विश्लेषकहरुले ब्याजदर न्यून विन्दुमै रहेकाले बजारमा धेरै ठूलो गिरावट देखा नपर्ने बताउँछन् ।

All banking information at your fingertips.


शेयर गर्नुहोस