बैंक खाता कस्तो बेला निष्क्रिय हुन्छ ?
बैंकको खबर । बैंक तथा वित्तीय संस्थाले कारोबार नभएका बचत खाताको हकमा तीन वर्ष एवम् कल खाता र चल्ती खाताको हकमा एक वर्षभन्दा बढी समयावधि व्यतीत भएपछि त्यस्तो खाता निष्क्रिय गर्नुपर्ने व्यवस्था छ ।
यसरी खाता निष्क्रिय भएपछि खाता सक्रिय गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचानसम्बन्धी नीतिबमोजिम सक्रिय गराउनुपर्दछ ।
अद्यावधिक भएको खाता सक्रिय गर्नुपर्दा सम्बन्धित ग्राहकले निवेदनबाहेक अन्य कागजात पेस गर्न आवश्यक पर्दैन ।
विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरीगराई सोको पुष्टि गर्ने व्यवस्था गरी खातालाई सक्रिय गर्ने व्यवस्था राष्ट्र बैंकले गरकेो छ । निष्क्रिय खाता सक्रिय गराउँदा ग्रँहकले कुनै शुल्क तिर्नुपर्दैन ।
कुनै खातामा १० वर्षदेखि शून्य मौज्दात रही कारोबार भएको छैन भने बैंक तथा वित्तीय संस्थाले सार्वजनिक सूचना प्रकाशन गरी त्यस्ता खाता बन्द गर्न सक्छन् । यसैगरी १० वर्षदेखि कारोबार नभएको वा कसैको हकदाबी नपरेको खाताको निक्षेप रकम लिन आउने सूचना बैंक वा वित्तीय संस्थाले प्रत्येक पाँच वर्षमा एक पटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुका साथै सो सम्बन्धी विस्तृत विवरण आफ्नो वेबसाइटमा समेत राख्ने गर्दछन् । २० वर्षसम्म पनि बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप रकम भने नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
All banking information at your fingertips.