राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टले नेपाल पे क्युआरबाट क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

२०८१ मंसिर २४ गते सोमबार ।
बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नेपाल पे क्युआर मर्चेन्टहरुले अन्तरदेशीय भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरुसँंग आबद्धता रहेको अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ ।
सम्झौताअनुसार नेपाल क्लियरिङ हाउसले क्रसबोर्डर कारोबारको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका बैंकका मर्चेन्टहरुले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने भएका छन् ।
नेपाल पे क्युआर हाल सम्म नलिएका ग्राहकहरुले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्नेछन । खासगरी चीन, थाइल्याण्ड, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा इटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकहरुले आफ्नो देशको विभिन्न वालेटमार्फत रकम भुक्तानी गर्न सक्नेछन । यस्तो कारोबारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोवारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा बैंकले गरेको छ ।
हाल बैंकले ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखाकार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।
All banking information at your fingertips.