सरकारको ऋण २५ खर्ब १८ अर्ब पुग्यो, चार महिनामा थपियो ८४ अर्ब
२०८१ मंसिर ५ गते बुधबार ।
बैंकको खबर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा झण्डै ८४ अर्ब रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८१ असार मसान्तमा २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको ऋण कात्तिक मसान्तसम्म ८३ अर्ब ९५ करोड रुपैयाँ बढेर २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
यससँगै नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको छ । कार्यालयका अनुसार सार्वजनिक ऋण जिडिपीको ४४ दशमलव १४ प्रतिशत पुगेको छ ।
विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गत असोजसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा चार अर्ब ९८ करोड रुपैयाँले ऋण दायित्व घटेको छ ।
कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख रुपैयाँ र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ छ । जिडिपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव १९ प्रतिशत छ।
सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामा सरकारले एक खर्ब ६५ अर्ब ७२ करोड ऋण प्राप्त गरिसकेको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ३० दशमलव ३० प्रतिशत हो ।
चालु आवका लागि सरकारले तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा वार्षिक लक्ष्यको ४३ दशमलव ६४ प्रतिशत अर्थात् एक खर्ब ४४ अर्ब रुपैयाँ पहिलो चार महिनामा उठाइसकेको छ । त्यस्तै, दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्म १० दशमलव एक प्रतिशत अर्थात् २१ अर्ब ७२ करोड रुपैयाँ उठाइसकेको छ ।
चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले चार खर्ब दुई अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्म एक खर्ब आठ अर्ब १४ करोड रुपैयाँ साँवाब्याज भुक्तानी भइसकेको कार्यालयको जनाएको छ।
All banking information at your fingertips.