बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावलीमा संशोधन
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१मा संशोधन गरेको छ । असोज १ गतेदेखि लागू हुनेगरी संशोधन सहितको विनियमावली जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
विनियमावलीमा खाता रोक्का राख्न अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकले तोकेको ब्यहोरा खुलाई लिखित रुपमा अनुरोध गरेमा राष्ट्र बैंकले अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था थियो । तर अहिले सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गरी अख्तियारप्राप्त निकायले इजाजतपत्रप्राप्त संस्थामा गरेको पत्राचारबमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न यस व्यवस्थाले बाधा नपर्ने व्यवस्था थपिएको छ । त्यस्तो पत्राचारबमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको जानकारी इजाजतपत्रप्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरेको छ ।
बैंक खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फुकुवा गर्न राष्ट्र बैंकले निर्देशन दिनुपर्ने व्यवस्था छ । विनियमावलीमा रोक्का रहेको खाता अदालतको आदेशबमोजिम फुकुवा गर्न इजाजतपत्र संस्थालाई राष्ट्र बैंकको निर्देशन अनिवार्य नहुने व्यवस्था छ । तर अहिले यसरी खाता फुकुवा गरिएमा राष्ट्र बैंकलाई जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था थप गरिएको छ ।
विनियमावलीमा जुनसुकै कुरा लेखेको भएतापनि भूलवश वा कुनै कसुर गरी कुनै ब्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खातामा रकम जम्मा गरिएको भन्ने इजाजतपत्रप्राप्त संस्थालाई लिखित÷मौखिक जानकारी प्राप्त भएमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले सो को यकीन गरी अल्पकालीन अवधिको लागि त्यस्तो खाता रोक्का गर्न सक्ने नयाँ व्यवस्था गरिएको छ । यसरी रोक्का राखेको खाता ४८ घण्टाभन्दा बढी अवधिको लागि रोक्का राख्न परेमा भने राष्ट्र बैंकमार्पmत पुनः रोक्का गराउनुपर्नेछ ।
कानून बमोजिम सेफ डिपोजिट भल्ट/लकर सोझै रोक्का गर्ने व्यवस्था भएमा अख्तियारप्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्रप्राप्त संस्थामा रहेको त्यस्तो सेफ डिपोजिट भल्ट/लकर रोक्काका लागि इजाजतपत्रप्राप्त संस्थालाई सोझै पत्राचार गर्न सक्ने व्यवस्था पनि थपिएको छ ।
All banking information at your fingertips.