राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशी प्रदेशसभा सांसदहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण
बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंकले कोशी प्रदेशसभाका सांसदहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन गरेको छ । कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा आयोजित सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षत्रीले सांसदहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै व्यवसायीहरु ब्याजदरको कारणले पलायन हुन सक्ने जोखिम रहेको त्यसको लागि बैंकहरुको ब्याजदर स्थिर हुनुपर्ने बताए । कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारे । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर क्षेत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानूनी आधार बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध, विकास आवश्यकता छनौट लगायतका विषयमा प्रदेश सभा सदस्यहरुले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरुको उपस्थिति थियो ।
बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
All banking information at your fingertips.