भारतमा सेयरबजार नियामक सेबीको प्रमुखमाथि तीन ठाउँबाट फाइदा लिएको आरोप


नयाँ दिल्ली, भदौ १८ । भारतको पुँजीबजार नियामक सेक्युरिटी एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)का प्रमुख माधवी पूरी बुचविरुद्ध तीन ठाउँबाट तलब भत्ता सहितको सुविधा लिएको आरोप लागेको छ । 

प्रमुख विपक्षि दल कांग्रेस प्रवक्ता पवन खेडाले सोमबार पत्रकार सम्मेलन गरी माधवी सेबीमा आवद्ध हुँदा आईसीआईसीआई बैंकसहित तीन ठाउँबाट तलब लिएको आरोप लगाएका हुन् । 

माधवी पुरी बुच सन् २०१७ अप्रिल ५ देखि सन् २०२१ अक्टोबर ४ सम्म सेबीको पूर्णकालीन सदस्य थिइन । त्यसपछि सन् २०२२ मार्च २ मा सेबीको अध्यक्ष बनिन । प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटले बुचलाई सेबीको अध्यक्ष बनाएको हो । 

आईसीआईसीआईले भने कांग्रेस प्रवक्ताले लगाएको आरोपको खण्डन गर्दै बुचले बैंकबाट अवकाश लिएपछि तलब वा कर्मचारी स्टकको विकल्प नदिइएको तर सेवानिवृत्तिको सुविधा लिएको बताएको छ । 

कांग्रेस प्रवक्ता खेडाले माधवी पुरी बुचले सेबीको पूर्णकालीन सदस्य भएको बेला आईसीआईसीआई बैंकबाट १६ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको नियमित आम्दानी लिइरहेको आरोप लगाए । उनले आईसीआईसीआई सँगै ईएसओपी र सोको टीडीएस पनि लिएको दाबी गरे । जुन सेबीको धारा ५४ को प्रत्यक्ष उल्लङ्घन भएको बताए । उनले अध्यक्ष बुचले पदबाट राजीनामा दिनुपर्ने बताए ।

 

२०८१ भदौ १८

शेयर गर्नुहोस