जलवायु परिवर्तनबाट बैंकमा पर्ने असरबारे फेडले सुरु गर्याे अध्ययन


बैंक खबर । जलवायु परिवर्तनबाट बैंकहरुलाई पर्नसक्ने असरबारे अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले अध्ययन सुरु गरेको छ । आगामी जुलाईसम्म जलवायु परिवर्तनबाट हुनसक्ने विनासकारी अवस्थाबाट अमेरिकाका ६ ठूला बैंकहरुलाई कस्तो असर पर्छ भनेर अध्ययन गर्न निर्देशन दिएको हो । 

यस्तो अध्ययनमा जंगलमा हुने आगलागी, बाढी, सुख्खा र तातो हावाको लहरको परीक्षण गरी निम्तिन सक्ने भौतिक क्षतिको अनुमान गर्नुपर्नेछ । एकसाता अघि फेडले विज्ञप्ति जारी गरेर यससम्बन्धी विवरणहरु सार्वजनिक गरेको थियो । 

विज्ञप्तिमा घरजग्गा पोर्टफोलियोमा हुनसक्ने भौतिक विनाशबारे अध्ययन गर्न पनि भनिएको छ । 

गतसाता फेड अध्यक्ष जेरोम पावेलले जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने वित्तीय जोखिम र भौतिक क्षतिबारे सुपरीवेक्षकको रुपमा काम गर्न सर्वसाधारणको अपेक्षा रहेको र त्यही अनुरुप बैंकहरुलाई जिम्मेवार बनाउन खोजिएको बताए । उनले जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमबारे फेडसँग साँघुरो तर महत्वपूर्ण जिम्मेवारी रहेको बताएका थिए । 

केन्द्रिय बैंकको यो कदमप्रति अमेरिकाका आलोचकहरुले फेड आफ्नो सीमाबाहिर गएको र छिट्टै वित्तीय दण्ड लगाउन सुरु हुने भनेर आलोचना गरेका छन् । रिपब्लिकन पार्टीका पूर्वसिनेटर प्याट टमीले यस्तो कार्यक्रमले बैंकहरुलाई उर्जा कम्पनी र कार्बन उत्सर्जन गर्ने क्षेत्रमा कर्जा र लगानी सीमित बनाउन दबाब दिने बताएका छन् । 

सेप्टेम्बरमै परीक्षण कार्यक्रम घोषणा गरेको फेडले बैंक अफ अमेरिका, सिटी ग्रुप, गोल्डम्यान श्याख्स, जेपी मोर्गन चेज, मोर्गन स्ट्यान्ली र वेल्स फार्गोलाई सहभागी गराउने भनेको छ । 

एजेन्सी 

All banking information at your fingertips

शेयर गर्नुहोस